प्रकृति लम्सालको मृत्यु प्रकरण: प्रतिनिधिसभामा कडा आवाज

3 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन ६ गते । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले भारतीय कलेजमा रहस्यमय मृत्यु भएकी नेपाली छात्रा प्रकृति लम्सालको घटनाबारे गम्भीर ध्यानाकर्षण गराएका छन्। ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत रुपन्देहीकी लम्सालको मृत्युपछि कलेज प्रशासनले अन्य नेपाली विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारको विषयमा सांसदहरूले सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।

सांसद ठाकुर गैह्रे, मनिष झा, ध्रुवबहादुर प्रधान, माधव सापकोटा, र छविलाल विश्वकर्माले कलेज प्रशासनको आपत्तिजनक भाषा र व्यवहारको विरोध गर्दै नेपाल सरकारले यस घटनालाई उच्च प्राथमिकतामा राखी छानबिन गर्नुपर्ने माग गरे। सांसद माधव सापकोटाले मृत्युसम्बन्धी न्यायोचित छानबिनका लागि आवाज उठाउँदै विरोध गर्ने विद्यार्थीहरूमाथि भएको अमानवीय व्यवहार अस्वीकार्य भएको बताए। साथै, सांसदहरूले नेपाल सरकारलाई उच्चस्तरीय कूटनीतिक संवाद अघि बढाउन आग्रह गर्दै नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि ठोस कदम चाल्न आवश्यक रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?