प्रेस सेन्टर नेपालले स्थापना दिवस मनाउँदै २१ औँ वर्षमा प्रवेश

7 महीना पहिले प्रकाशित

काठमाडौं, माघ १५ गते ।  प्रेस सेन्टर नेपालले आज आफ्नो स्थापना दिवस मनाउँदै २१ औँ वर्षमा प्रवेश गरेको छ। माओवादी जनयुद्धका क्रममा २०६१ साल माघ १५ गते स्थापना भएको यो संगठनले विभिन्न आरोह-अवरोह र एकता-विभाजनका प्रक्रियाबाट हुँदै आफ्नो आजको स्वरूप प्राप्त गरेको हो। स्थापना दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी, रक्तदान, सहिद परिवार भेटघाट, सरसफाइ, र अन्तरक्रियाजस्ता कार्यक्रमहरू आयोजना गरिएको छ। महासचिव सन्तोष पौडेलका अनुसार यो अवसरमा केन्द्रीय समिति बैठकसमेत आयोजना गरिएको छ, जसले पाँचौँ राष्ट्रिय महाधिवेशनसम्बन्धी निर्णय र कार्यतालिका सार्वजनिक गर्नेछ।

२०७३ सालमा सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले संगठनलाई नयाँ दिशा दियो। प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालबीच २०७६ मा भएको एकताले संगठनको नाम प्रेस संगठन नेपाल राखियो। तर, २०७७ सालमा राजनीतिक अस्थिरताका कारण विभाजन देखियो। तत्कालीन सहसंयोजक गणेश बस्नेतले सानो समूहसहित नयाँ संगठन घोषणा गरेपछि संगठन पुनः प्रेस सेन्टर नेपालको नाममा फर्कियो।

२०७८ मा चितवनमा सम्पन्न चौथो महाधिवेशनले विष्णु सापकोटाको नेतृत्वमा १९९ सदस्यीय समिति चयन गर्दै संगठनात्मक गतिविधि सुदृढ बनायो। २०७९ सालमा भएको बैठकले महासचिवसहितका ६१ पदाधिकारीको चयन गरेपछि संगठनले अझै सक्रियता बढाएको छ। अहिले, २१ औँ वर्षमा प्रवेश गर्दै प्रेस सेन्टर नेपालले आफ्नो ऐतिहासिक यात्रा र योगदानलाई सम्मान गर्दै महाधिवेशनको तयारी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?