मानव बेचबिखनविरुद्ध ‘किन इन्डिया’ को १४५ जनाको उद्धार
7 महीना पहिले प्रकाशित

काठमाडौं, माघ ७ गते । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था ‘किन इन्डिया’ ले सन् २०२४ मा १४५ जनाको उद्धार गरेको छ। भारतका विभिन्न सहरहरूमा बेचबिखनमा परेका तथा उच्च जोखिममा रहेका नेपाली र भारतीय महिला, बालबालिकासहित केही पुरुषलाई उद्धार गरिएको संस्थाले जनाएको छ। सोमबार दिल्लीस्थित ‘किन इन्डिया’ को कार्यालयमा सम्पन्न बोर्डको बैठकपछि जारी गरिएको विज्ञप्तिमा पछिल्लो वर्षको उपलब्धि र उद्धार प्रयासबारे जानकारी दिइएको हो। बैठकमा संस्थाका बोर्ड सदस्य, नेपाल टिमका प्रतिनिधि, साझेदार संस्थाका सदस्य तथा शुभचिन्तकहरूको भर्चुअल उपस्थिति रहेको थियो। बैठकले अघिल्लो वर्षका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा गर्ने योजनाको खाका निर्माण गरेको संस्थाका निर्देशक नवीन जोशीले बताए।
संस्थाका नेपाल संयोजक इन्द्रराज भट्टराईका अनुसार सन् २०२४ मा नेपाल र भारतमा गरि २६ वटा घटनामा आरोपितविरुद्ध मुद्दा दर्ता गरिएको छ। ‘किन इन्डिया’ ले जीएसआइएफ, शुभ अवसर ग्राम नेपाल, शक्ति समूह लगायतका संस्थासँग सहकार्यमा उद्धार, पुनःस्थापना तथा जनचेतना अभियान सञ्चालन गरिरहेको छ। उद्धार र स्वदेश फिर्तीको क्रममा नेपाल सरकार, नेपाल प्रहरी, नेपाली राजदूतावास, भारतीय प्रहरी तथा भारत सरकारका विभिन्न निकायहरूबाट प्राप्त सहयोगका लागि संस्थाले आभार व्यक्त गरेको छ। संस्थाले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण व्यक्तिहरूप्रति धन्यवाद समेत व्यक्त गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments