माघ स्नान र स्वस्थानी व्रत: वैदिक सनातन परम्पराको अनुपम साधना
2 दिन पहिले प्रकाशित
काठमाडौं, पुस २९ गते । वैदिक सनातन परम्पराअनुसार चन्द्रमासको माघ महिना विशेष धार्मिक क्रियाकलापका लागि महत्त्वपूर्ण मानिन्छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिनाको अवधिमा नेपालका विभिन्न शक्तिपीठमा पूजा आराधना गरिन्छ। यो परम्परा सतीदेवीको अङ्ग पतन भएका स्थानहरूमा देवीदेवताका बास रहेको विश्वासमा आधारित छ। यसैअनुसार आजदेखि वैदिक सनातन धर्मावलम्बीहरूले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत र कथा वाचन सुरु गरेका छन्। अधिकांश महिलाहरूले यो व्रत बस्ने चलन छ। यसका लागि पौष शुक्ल चतुर्दशीका दिन नङ काटी, स्नान गरी शुद्ध वस्त्र धारण गरेर सुरुवात गरिन्छ।
माघ स्नानपछि मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ भने साँझ स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको स्वस्थानी कथा सुन्ने परम्परा छ। एक महिनासम्म व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ सामग्री अर्पण गरी भगवतीलाई अघ्र्य दिइन्छ। स्वस्थानी व्रतले आत्मशुद्धि, योग साधना र आध्यात्मिक उन्नतिमा सहयोग पुग्ने विश्वास छ। स्कन्द पुराणका अनुसार, सुवर्ण वर्णकी त्रिनेत्रधारी, चार हात भएकी स्वस्थानी देवीको विधिपूर्वक व्रत गरे बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोग निको हुने, र इच्छित वर प्राप्त हुने जनविश्वास छ। यसै अवसरमा उपत्यकाको साँखुस्थित शालिनदीमा माघ स्नानसहित माधवनारायणको मेला सुरु भएको छ।
कमेन्ट गर्नुहोस्
view comments