मन्त्री यादवद्वारा सिरहाका सामुदायिक वनहरूको अनुगमन, अतिक्रमित क्षेत्रमा पनि वृक्षरोपण गर्ने निर्देशन

9 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ११ गते । मधेस प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जय यादवले सिरहास्थित विभिन्न सामुदायिक वनहरूको स्थलगत अनुगमन गरेका छन्। आर्थिक वर्ष २०८१/८२ मा डिभिजन वन कार्यालयले गरेको तारबारसहितको वृक्षरोपण कार्यक्रमको निरीक्षण गर्दै मन्त्री यादवले सामुदायिक वनका केही क्षेत्र अझै अतिक्रमणमा रहेको पाइएको जानकारी दिए। उनले अतिक्रमणमुक्त वन क्षेत्र बनाउन कडाइ अपनाउन र अतिक्रमित जमिनमा समेत वृक्षरोपण गर्न वन कार्यालयलाई निर्देशन दिए।

“वनको संरक्षणमा सम्झौता हुन सक्दैन,” मन्त्री यादवले भने, “अतिक्रमित जमिनमा समेत वृक्षरोपण गरेर पुनः हरियाली बनाउन आवश्यक छ। सामुदायिक सहभागितामा आधारित दिगो वन व्यवस्थापन हाम्रो लक्ष्य हो।” उनले कर्जन्हा–१ को नन्दबाबा सामुदायिक वन, गोलबजार–१० को घुर्मिकिनार सामुदायिक वन, चुरे चौफाल सामुदायिक वनलगायत स्थानहरूको निरीक्षण गरे। मन्त्री यादवले सामुदायिक वन व्यवस्थापनमा स्थानीय सक्रियता अपरिहार्य भएको उल्लेख गर्दै प्रदेश सरकार जनतासँगै रहँदै वातावरण संरक्षणमा प्रतिबद्ध रहेको स्पष्ट पारे। अनुगमनमा डिभिजन वन कार्यालय सिरहा–लहानसहितका सबडिभिजन कार्यालयका कर्मचारीहरूको पनि सहभागिता थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?