गौर नगरपालिकामा जग्गा कित्ताकाट खुला, कृषि र आवासीय क्षेत्रमा नयाँ मापदण्ड लागू

9 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ११ गते । रौतहटको गौर नगरपालिकामा लामो प्रतीक्षापछि मङ्गलबारदेखि जग्गा कित्ताकाट प्रक्रिया खुला भएको छ। २०८२ साउन १ गतेदेखि रोकिएको कित्ताकाट नगरपालिकाले भू–उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जग्गाको वर्गीकरण प्रतिवेदन तयार गरी पारित गरेपछि पुनः सुरु गरिएको हो। भवन तथा आवासीय विकास उपशाखाका अमिन सुधिर यादवका अनुसार प्रतिवेदनमा कृषि तथा गैर–कृषि क्षेत्र छुट्याइएको छ। प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरका अनुसार प्रतिवेदनसहित अद्यावधिक नक्सा र सफ्टकपी मालपोत तथा नापी कार्यालयमा पेस गरिएपछि सबै वडामा कित्ताकाट खुला गरिएको हो।

नयाँ व्यवस्था अनुसार कृषि क्षेत्रको जग्गा दुई कठाभन्दा कम र आवासीय क्षेत्रको जग्गा ७ दशमलव ७५ धुरभन्दा कममा कित्ताकाट गर्न पाइने छैन। भू–उपयोग नियमावलीले स्थानीय तहलाई जग्गा वर्गीकरणको अधिकार दिएको भए पनि जनशक्ति र प्रविधिको अभावले धेरै स्थानीय तह समयमा वर्गीकरण गर्न नसकेका थिए। त्यसकै कारण २०८२ साउन १ गतेदेखि वर्गीकरण नगरिएका नगरपालिकामा कित्ताकाट रोकिएको हो। रौतहटमा गढिमाइ, कटहरिया, गरुडा, बौधीमाइ र मौलापुर नगरपालिकाले भने अझै वर्गीकरण सक्न नसकेकाले त्यहाँ कित्ताकाट खुल्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?