जनकपुरधामको सरसफाई व्यवस्थापन एक चुनौती

3 घन्टा पहिले प्रकाशित

संतोष कुमार मिश्र

जनकपुरधाम, भदौ ९ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम धार्मिक र सांस्कृतिक हिसाबले अत्यन्तै महत्वपूर्ण शहर हो, जसले लाखौं भक्तजन र पर्यटकहरूलाई वर्षेनी आकर्षित गर्छ । यो मिथिला सभ्यताको केन्द्र मानिन्छ र विशेषगरी जानकी मन्दिरका कारण देश–विदेशका लाखौं पर्यटक तथा श्रद्धालुहरूको गन्तव्य स्थल बनेको छ । यति ठूलो धार्मिक तथा सांस्कृतिक महत्व बोकेको शहरमा सरसफाई, स्वास्थ्य र पर्यावरणको उचित व्यवस्थापन हुनु अत्यन्त आवश्यक हुन्छ । तर पछिल्ला केही वर्षयता देखि जनकपुरधामले सरसफाई व्यवस्थापन सम्बन्धी विविध चुनौतीहरू झेलिरहेको छ । अनियोजित शहरीकरण, जनसंख्याको वृद्धि, जनचेतनाको कमी, प्रविधिको अभाव र कमजोर स्थानीय प्रशासनिक संरचनाले जनकपुरधाममा फोहोर व्यवस्थापन एक जटिल समस्या बनेको छ । मिथिला संस्कृतिको केन्द्र मानिने यस शहरको सौन्दर्य र पवित्रता कायम राख्न सरसफाई व्यवस्थापन प्रमुख चुनौतीको विषय बनेको छ । हाल जनकपुरधाममा घरायसी फोहोर, प्लास्टिकको प्रयोग, खुला नाला तथा ढलको अव्यवस्थित बहाव, सडकको धुलो र फोहोर व्यवस्थापनमा व्यापक समस्या देखिन्छ । जनकपुरधाममा हाल दैनिक रूपमा टनौ फोहोर उत्पादन हुन्छ, तर तीमध्ये धेरैजसो फोहोरहरू सही तरिकाले संकलन, छुट्याउने र रिसाइकल गर्ने प्रणालीको अभावमा खुला स्थान, पोखरी र पोखरीको डिल, सडक छेउ र नदी–नालामा फालिन्छन् । यसले वातावरणीय प्रदूषण मात्र हैन, जनस्वास्थ्यमा पनि गम्भीर असर पारेको छ ।

त्यती मात्रै नभई कुण्डैकुण्डको शहर मानिने जनकपुरधामको धार्मिक पोखरीहरु र डिलमा फोहोर देखिने गर्छन् । नगरपालिका तथा स्थानीय सरकार लगायत यहाँका युवा पिढीहरुले फोहोर व्यवस्थापन तर्फ प्रयास गरे तापनि पर्याप्त जनशक्ति, प्रविधि र जनचेतनाको अभावले समस्या ज्यूँका त्यूँ देखिन्छ । यसका मुख्य समस्याहरु फोहोर संकलनमा ढिलासुस्ती, नियमित रुपमा फोहोर संकलन नहुनु, जनचेतनाको अभाव, नागरिकहरूमा वातावरणीय चेतना र जिम्मेवारीको कमी, पुनःप्रयोग र रिसाइकल प्रणालीको कमी, फोहोर छुट्याउने प्रविधि नहुनु, खुला शौच र ढल व्यवस्थापनको समस्या, जल निकासीको व्यवस्था कमजोर हुनु जस्ता समस्याहरु रहेका छन् । यसका समाधान तर्फ जाने हो भने जनचेतना कार्यक्रमहरू सञ्चालन, विद्यालयदेखि समुदायसम्म सरसफाइका विषयमा प्रशिक्षण र कार्यक्रम सञ्चालन गर्नुपर्ने, फोहोर छुट्याउने प्रणालीको विकास, जैविक र अजैविक फोहोर छुट्याएर रिसाइकल गर्न सकिने प्रणाली अपनाउनु, सार्वजनिक शौचालय तथा नाला व्यवस्थापन, पर्याप्त संख्यामा सफा र सुरक्षित सार्वजनिक शौचालय निर्माण तथा ढल सफा गर्ने आधुनिक प्रविधिको प्रयोग, निजी क्षेत्रको संलग्नता, फोहोर व्यवस्थापनमा निजी कम्पनीहरूको लगानी र सहभागिताहरुले सरसफाईको समस्या समाधान हुन्छन् होला । जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व कायम राख्न सरसफाई व्यवस्थापनमा दीर्घकालीन सोच र योजनाबद्ध काम आवश्यक छ । यस तर्फ स्थानीय सरकार, नागरिक समाज, संघसंस्था तथा नागरिक सबैको सहकार्य बिना यो सम्भव छैन । सफा जनकपुरधाम, स्वास्थ जनकपुरधाम बनाउनमा सबैले भूमिका खेल्नुपर्ने आवश्यकता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?