श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान्‌लाई १० वर्ष ६ महिना कैद सजाय

4 वर्ष पहिले प्रकाशित

२०७८ भदौ १० गते 

श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान्‌लाई जिल्ला अदालत धनुषाले १० वर्ष ६ महिनाको कैद फैसला सुनाएको छ।

जिल्ला अदालत धनुषामा न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले बिहीबार यस्तो फैसला सुनाएको हो।

त्यस्तै, ६ लाख ५० हजार जरिवाना र ६ लाख ५० हजार क्षतिपूर्ति तिराउने फैसला भएको जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए।

जिल्ला अदालत धनुषाले यसअघि श्रीमान् सञ्जीव साहलाई दोषी ठहर गरेको थियो। न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सञ्जीव साहलाई दोषी ठहर गरेको थियो भने यसै घटनामा एसिड बेच्ने नागेन्द्र साहलाई अदालतले सफाइ दिएको थियो।

कात्तिक १९ गते दीपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर श्रीमती आरती साह र छोरी रियामाथि २६ वर्षीय सञ्जीव साहले एसिड प्रहार गरेका थिए।

घटनापश्चात् सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा आरतीका श्रीमान् र एसिड बेच्ने नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?