धनुषामा श्रीमतीको हत्या आरोपपछि श्रीमान् मृत फेला, चार वर्षीय छोरा घाइते

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक ८ गते । धनुषामा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने उनका चार वर्षीय छोरा घाइते भएका छन्। घटनापछि फरार रहेका महिलाका श्रीमान् पनि झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरस्थित ससुरालीमा पुगेर ३० वर्षीया श्रीमती रिना यादव र छोरा सम्राट्माथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। राति करिब १ः५० बजे भएको घटनामा रिनाको घटनास्थलमै मृत्यु भएको थियो भने छोराको दाहिने तिघ्रामा चोट लागेको छ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको टोलीले रिनालाई मृत र छोरालाई घाइते अवस्थामा फेला पारेको थियो। घाइते बालकलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कु बरामद गरेको छ। उमेशको खोजी गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२, सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?