सिरहामा सार्वजनिक शान्तिविरुद्धको कसुरमा वडाध्यक्ष सोहेब अनवर पक्राउ
58 मिनट पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक ९ गते । सिरहाको गोलबजार नगरपालिका–११, बलकावाका वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको हो। प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार गत साउन १० गते सुनसरीको देवानगञ्ज र साउन १४ गते सिरहाको गोलबजारमा भएका तोडफोड, आगजनी तथा सार्वजनिक शान्तिविरुद्धका घटनामा संलग्न रहेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।
गोलबजारमा भएको तोडफोड तथा आगजनीमा अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट् सेना’सँग आबद्ध केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अनवर पछिल्लो समय ससुरालीलगायत विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा खोजतलास गरी पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments