डीआरएस र नयाँ सुविधासहित एनपीएलको तेस्रो संस्करण सुरु हुँदै
1 घन्टा पहिले प्रकाशित
काठमाडौं , कार्तिक ८ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भोलिदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सबै ३२ खेल एउटै मैदानमा खेलाइनेछन्। यस संस्करणमा पहिलोपटक हक–आई प्रविधिमा आधारित निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग गरिनेछ, जसअन्तर्गत प्रत्येक टोलीले एक इनिङ्समा दुईवटासम्म अम्पायरको निर्णय चुनौती दिन सक्नेछ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यतासमेत प्राप्त प्रतियोगितामा चर्चित विदेशी खेलाडीको सहभागिताले नेपाली क्रिकेटरलाई उच्चस्तरको प्रतिस्पर्धात्मक अनुभव दिलाउने अपेक्षा गरिएको छ। प्रतियोगितालाई दर्शकमैत्री बनाउन मैदानमा करिब दुई हजार थप दर्शक अट्ने सिट, छानासहितको दर्शकदीर्घा, एलईडी स्कोरबोर्ड, डिजिटल बाउन्ड्री बोर्ड र सञ्चारकर्मीका लागि मिडिया सेन्टरजस्ता सुविधा थपिएका छन्। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौं गोर्खाज सहभागी हुने लिगमा प्रत्येक टोलीले अन्य सात टोलीसँग एक–एक खेल खेल्नेछ। लिग चरणको समाप्तिपछि अंकतालिकाका शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्।
कमेन्ट गर्नुहोस्
view comments