धनुषामा २० वर्षीया विवाहित महिला मृत फेला, श्रीमान् प्रहरी नियन्त्रणमा
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज १९ गते । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा २० वर्षीया विवाहित महिला प्रियंका दास घरमै मृत फेला परेकी छन्। स्थानीय विनोद दासकी पत्नी प्रियंकाको शव आइतबार साँझ आफ्नै सुत्ने कोठाको ओछ्यानमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। आफन्तका अनुसार प्रियंकालाई सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा देखेपछि उनका श्रीमान् विनोदले पासो खोलेर शवलाई ओछ्यानमा राखेका थिए। घटनापछि स्थानीयवासीले भने उनको मृत्यु शंकास्पद रहेको भन्दै हत्या भएको आशंका गरेका छन्।
घटनाको जानकारी पाएपछि कपिलेश्वर प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेको थियो। अबेर रातिसम्म स्थानीयवासीले घरबाहिर भेला भएर घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले घटनास्थल पत्रकारलाई समेत हेर्न दिनुपर्ने माग गरेका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार प्रहरीले घटनास्थलको मुचुल्का उठाउनेलगायत प्रारम्भिक अनुसन्धान गरिरहेको छ। घटनाबारे थप सोधपुछका लागि मृतकका श्रीमान् विनोदलाई जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments