केपी ओली ज्ञानेन्द्र शाहलाई भेट्न सुटुक्क जाने गरेका माधव नेपालको आरोप

4 वर्ष पहिले प्रकाशित

२०७८ चैत ११ गते । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाउनुभएको छ । अध्यक्ष नेपालले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाउनुभएको हो ।

अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले शुक्रवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘यो गठबन्धनलाई तोड्नका लागि केपी ओली लागिपरेका छन् । तर उनी पनि गठबन्धन गर्दैछन्, कोसँग थाहा छ रु सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन् । विदेशीहरूसँग, दलाली गर्ने पार्टीहरूसँग तालमेल गर्न खोजिरहेका छन् । किनभने उनीहरू दक्षिणपन्थी शक्ति हुन ।’

अध्यक्ष नेपालले आफूहरू भने वामपन्थी, लोकतान्त्रिक शक्ति भएकाले कांग्रेसलगायतका शक्तिहरूसँग चुनावी तालमेल गरेर अघि बढ्ने बताउनुभयो । उहाँले सत्तारुढ गठबन्धनसँग मिलेर चुनावमा जाने अडान लिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु देउवाप्रति आभार पनि व्यक्त गर्नुभयो ।

यस्तै अध्यक्ष नेपालले आफ्नै शक्तिको भरमा चुनाव जित्ने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर नै चलेको दाबीसमेत गर्नुभयो । पार्टी स्थापना भएको ६ महिनाको छोटो अवधिमा कुनै पनि पार्टीले नेपालको इतिहासमा आफ्नो पार्टीले जस्तो आकार ग्रहण गर्न नसकेको पनि उहाँको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?