मधेश सरकारको अंकगणितमा एमालेको ‘ब्रेक’, चार मन्त्रीले एकैसाथ छाडे सत्ता

13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज ३० गते । मधेश प्रदेशमा सत्ता समीकरण फेरबदल भएको छ। नेकपा एमालेले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारबाट बाहिरिँदै आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएको छ। एमालेका मन्त्रीहरूले आज मुख्यमन्त्री यादवसमक्ष राजीनामापत्र बुझाएका छन्। एमालेका प्रमुख सचेतक हरिनारायण महतोका अनुसार पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।

समर्थन फिर्तापछि नयाँ समीकरणको चर्चा

राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह छन्। नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री रहेको वर्तमान गठबन्धनमा नेपाली कम्युनिस्ट पार्टी पनि सहभागी छ। एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रदेश सरकारको स्थायित्व र आगामी सत्ता समीकरणबारे राजनीतिक चासो बढेको छ। एमालेले अब कुन राजनीतिक दलसँग सहकार्य गर्छ र नयाँ सरकार गठनका लागि कस्तो पहल गर्छ भन्ने विषयले मधेशको राजनीतिमा थप महत्त्व पाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?