कांग्रेसको नयाँ पदाधिकारीमा विशेष महाधिवेशनको छाप, थापा नेतृत्व थप बलियो
15 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज २६ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको परिणामले पार्टीभित्र विशेष महाधिवेशनपछि अघि बढेको नेतृत्व परिवर्तनको प्रक्रियाले निरन्तरता पाएको देखाएको छ। सभापतिमा गगन थापा ९४ प्रतिशतभन्दा बढी मतसहित निर्वाचित भएका छन् भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन्। खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोदकुमार चौधरी विजयी भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएका छन्। निर्वाचित अधिकांश नेता विशेष महाधिवेशनको प्रक्रियामा थापा नेतृत्वसँग जोडिएका थिए।
पुराना समीकरणबाट नयाँ नेतृत्वतर्फ
उपसभापतिमा निर्वाचित भण्डारी र आचार्य लामो समयदेखि पार्टी संगठनमा सक्रिय छन् भने चौधरी उद्योग तथा व्यवसाय क्षेत्रबाट राजनीतिमा आएका नेता हुन्। महामन्त्री पौडेल र राणा विशेष महाधिवेशनबाट पार्टीको पदाधिकारी बनेका थिए। संग्रौलाले महिला महामन्त्रीको प्रतिस्पर्धामा महालक्ष्मी उपाध्यायलाई पराजित गरेकी छन्। उपाध्याय यसअघि सहमहामन्त्री थिइन्। खुला महामन्त्रीमा राणा निकटतम प्रतिस्पर्धीभन्दा ७३ मतले अघि रहे भने गुरुराज घिमिरे १ हजार ५ सय १३ मतसहित चौथो स्थानमा रहे। निर्वाचन परिणामले कांग्रेसभित्र नेतृत्व परिवर्तनसँगै पदाधिकारी तहमा नयाँ शक्ति सन्तुलन बनेको संकेत गरेको छ। कांग्रेस धनकुटाका सभापति दिनेश राईले पनि यसलाई विशेष महाधिवेशनबाट सुरु भएको परिवर्तनको निरन्तरताका रूपमा व्याख्या गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments