स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्लामा राजनीतिक दलहरुले चुनाव गतिविधि तीव्र

4 वर्ष पहिले प्रकाशित

२०७८ चैत ११ गते।स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्लामा राजनीतिक दलहरुले चुनाव लक्षित गतिविधि तीव्र पारेका छन्। निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न ठूला राजनीतिक दलहरु सक्रियतापूर्वक लागिपरेका छन्। उम्मेदवार छान्न दलहरुले दैनिकजसो कार्यक्रम अगाडि बढाइरहेका छन्।

हुम्लामा नेपाली कांग्रेस चैत २ गतेबाट ‘गाउँ गाउँ जाउ, नेपाली कांग्रेसलाई जिताउ’ अभियानमा छ। उसले चैत महिनाभर उक्त अभियान सञ्चालन गर्ने बताएको छ। निर्वाचन लक्षित गतिविधिको कार्यतालिका नै तयार पारेर कांग्रेसका नेताहरु पालिकास्तरमा खटिएका छन्।

कांग्रेस हुम्लाका उपसभापति बसन्त रोकायाका अनुसार पदाधिकारीहरुको नेतृत्वमा गाउँपालिकास्तरमा निर्वाचन लक्षित कार्यक्रम भइरहेको छ। जिम्मेवारी पाएका पदाधिकारीले गाउँ–गाउँ र बस्तीबस्ती पुगेर कार्यकर्ताहरुसँग भेटघाट र रायसल्लाह लिएर प्रतिवेदन पार्टीमा बुझाउनुपर्ने उनले बताए। त्यसमा सात वटै गाउँपालिकामा खटिएको टोलीले वडा कार्य समितिको समन्वयमा सम्भावित स्थानीय तहका आकांक्षीहरुको नामसमेत पार्टीलाई पेश गरेर चैत २५ सम्म उम्मेदवारको टुङ्गो लगाउने तयारी कांग्रेसले गरेको उनले जानकारी दिए।

यता एमाले अध्यक्ष कलबहादुर हमालले निर्वाचन लक्षित ६ वटा गाउँपालिकामा कार्यकर्ता भेटघाट र सङ्गठन सुदृढीकरण कार्यक्रम सम्पन्न भएको जानकारी दिए। उनले सो कार्यक्रमबाट स्थानीय तहको निर्वाचनको लागि सम्भावित उम्मेदवारका बारेमा सङ्गठित सदस्यहरु र पार्टी कार्यकर्ताहरुबाट रायसल्लाह लिने कार्य पनि भएको बताए।

पहिलो चरणको निर्वाचन लक्षित कार्यक्रम सम्पन्न गरेको एमालेले दोस्रो चरणको कार्यक्रम पनि तयारी थालेको जनाएको छ।

त्यस्तै नेकपा माओवादी केन्द्र प्रदेश क्षेत्रअन्तर्गत दुई वटा कार्यक्रम एकसाथ सुरु गरेको छ। सो कार्यक्रममा पार्टीको गाउँपालिका स्तरीय समितिका पदाधिकारी, जिल्ला समन्वय समिति र प्रदेश समितिका सदस्यहरुको समेत सहभागिता रहेको छ। यी कार्यक्रममा माओवादी केन्द्रले निर्वाचन लक्षित प्रशिक्षण दिने कार्यक्रमसमेत गरेको छ।

सो कार्यक्रम सम्पन्न भएलगत्तै उक्त पार्टीले गाउँपालिका र वडा केन्द्रित कार्यक्रम सञ्चालन गरिने जनाएको छ। माओवादी केन्द्रले पनि चैत महिनाभित्र पार्टीका तर्फबाट उम्मेदवारहरुको टुङ्गो लगाउने गरी तयारी भइरहेको जनाएको छ ।

नेकपा एकीकृत समाजवादीले पनि आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रम सुरु भएको सो पार्टीका सचिव कमल छत्यालले बताए। यसका लागि सात वटै गाउँपालिकामा सञ्चालन हुने कार्यक्रमको कार्यतालिका सार्वजनिक गरिएको उनले बताए। उक्त पार्टीका केन्द्रीय सदस्य र जिल्ला पदाधिकारीहरुलाई अभियानमा खटाइएको छ।

अहिले गाउँ–गाउँमा दैनिकजसो कुनै न कुनै पार्टीको एउटा न एउटा कार्यक्रम सञ्चालन भइरहेको छ। यससँगै जिल्लामा निर्वाचनको माहोल तात्ने क्रम सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?