प्रचण्डलाई नागरिकता विहिनको पत्र : हामीलाई कहिलेसम्म अनागरिक बनाउने ?

4 वर्ष पहिले प्रकाशित

फागुन ३० गते ।
नागरिकता विहिनहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् ।

आईतबार विराटनगर पुगेका प्रचण्डलाई नागरिकता विहिन नेपालीहरुको राष्ट्रिय संयोजक ईन्द्रजित साफीले ज्ञापन पत्र बुझाएका हुन् ।

सयौं नागरिकता पीडितहरुको समूहसहित पुगेका राष्ट्रिय संयोजक साफीले प्रचण्डको हातमा ज्ञापन पत्र थमाउँदै नागरिकता विधेयक पारित गर्न माग गरेको छ । उनीहरुले नागरिकता विधेयकसँगै नागरिकता नभएर गुमाएका सेवा सुविधाको क्षतिपुर्ति पाउनुपर्ने समेत माग गरेका छन् ।

‘हामीलाई नेपालको संविधानले नागरिकता दिन नरोकेपनि कानूनको अभावमा नागरिकता विहिन भएका छौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा शुशासन समितिमा २०७५ भाद्र ५ गते नागरिकता विधेयक दर्ता भएको थियो । तर सत्ताको लडाईमा नागरिकता विधेयक सदनमा अहिलेसम्म विचारधिन अबस्थामा यथावत रहेको छ,’ संयोजक साफीले हस्ताक्षर गरेको उक्त ज्ञापन पत्रमा अगाडी लेखिएको छ ‘पार्टी दल विभाजन गर्नका लागी ल्याईएको विधेयक अध्यादेश सदनबाट पारित नहुदै कार्यान्वयनमा आउने तर नेपालको संविधानमा लेखिसकेका नागरिकता दिनको लागी कानुन बन्नु पर्ने ?’

‘बुवा, आमा नेपालको नागरिक भएर पनि हामी कहिलेसम्म अनागरिक भएर बसी राख्ने ?,’ प्रश्न उठाउँदै भनेका छन् ‘नागरिकता नपाएर न त पढ्न पाका छौ, पढेर पनि काम गर्न पाका छैनौ, बैदेशिक रोजगारीमा जान पाका छैनौ, बैंकको खाता खोल्न पाका छैनौ, न त सिम कार्डसम्म आफ्नो नामबाट निकाल्न पाका छैनौ ।’

आफूहरु पटकपटक देशका प्रमुख सरोकारवाला र देशका प्रमख पार्टीहरूलाई जानकारी तथा ज्ञापन पत्र बुझाएपनि नागरिकताको समस्या बारे गम्भिर नभएको भन्दै उनीहरुले आक्रोश पोखेका छन् । तत्कालै नागरिकता विधेयक पारित नगरे देशका प्रमुख सरकारी कार्यालय, पार्टी कार्यालय र पार्टी प्रमखको निवास घेराउ गर्ने धम्की समेत उनीहरुले ज्ञापनपत्र मार्फत दिएका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रचण्डले चाँडै नागरिकता विधेयकलाई संंसदबाट निश्कर्षमा पु¥याउने प्रतिबद्धता जनाएको राष्ट्रिय संयोजक साफीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?