सङ्घीय सरकारले सम्पदा संरक्षणमा : मेयर शाक्यको गुनासो
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन २० गते ।काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदाहरुको संरक्षणमा सङ्घीय सरकारले चासो नदिएको गुनासो गर्नु भएको छ ।
मेयर शाक्यले सम्पदाहरुको संरक्षण गर्ने दायित्व सङ्घीय सरकारको भए पनि त्यसअनुसार काम नगरेको बताउनु भएको हो ।
आज काठमाण्डौको भोटाहिटीमा रहेको अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्यास गर्दै उहाँले सङ्घीय सरकारले सहयोग नगरे पनि काठमाण्डौ महानगरपालिकाले सबै सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाएको दाबी गर्नुभयो ।
उहाँले महानगरपालिकाले सम्पदाहरुको पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको जिम्मा भने स्थानीय गुठीहरुलाई नै दिने नीतिअनुसार काम भइरहेको बताउनुभयो ।
आँगन घर पुनर्निर्माणका लागि काठमाण्डौ महानगरपालिकाले ७६ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । यहीअनुसार पहिलो किस्ताबापत २५ लाख ११ हजार रुपैयाँ निकासा भएको र पुनर्निर्माणको कामको पनि शुभारम्भ गरिएको पुनर्निर्माण समितिका सचिव तीर्थ महर्जनले जानकारी दिनुभयो ।
समितिका अनुसार आँगन घरको पुनर्निर्माणका लागि करिब साढे १ करोड रुपैयाँ बजेट लाग्नेछ । दुई वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने गरी अघि बढाइएको पुनर्निर्माण समितिले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments