प्रचण्ड भन्छन् – ओलीको कदमले पार्टी एकतालाई असर गर्दैन
5 वर्ष पहिले प्रकाशित
६ पुस , २०७७
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले एकतालाई असर नगर्ने दाबी गरेका छन् ।
दाहालले सोमबार बिहान विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिको पार्टीविरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने उल्लेख गरेका छन् ।
‘हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनताविरोधी यस प्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्त्विक असर पर्नेछैन,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणामस्वरूप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।’ राष्ट्रको समृद्धि र नेपाली कम्युनिस्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्त्वहरूका विरुद्ध एकताबद्ध भएर उभिन उनले नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
दाहालले आइतबार बसेको पार्टी स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले चालेको स्वेच्छाचारी कदमको भर्त्सना गर्दै त्यसलाई पूर्ण रूपमा अस्वीकार गर्ने र उनलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टीकरण माग्ने निर्णय गरेको पनि जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
view comments