'तेरे नाम' पछि पनि संघर्ष गर्नुपर्यो, भोजपुरी फिल्मले फेरियो रवि किशनको भाग्य
20 घन्टा पहिले प्रकाशित
एजेन्सी,मंसिर ११ गते । अभिनेता रवि किशनले आफ्नो करिअरको सुरुवाती समयको संघर्षबारे खुलेर कुरा गरेका छन्। सलमान खानसँग 'तेरे नाम' फिल्ममा काम गरिसकेपछि पनि आफूले निकै संघर्ष गर्नुपरेको उनले बताए। काम पाउन गाह्रो भइरहेको र आर्थिक अवस्था पनि राम्रो नभएको बेला उनलाई भोजपुरी फिल्मको प्रस्ताव आयो। 'कफी विद करण ९' मा अक्षय कुमारसँग पुगेका किशनले त्यतिबेला भोजपुरी फिल्मको बजार सानो ठानेर दोधारमा परेको सुनाए। तर आमाले फिल्म नचले पनि गाउँका मानिसले पर्दामा देख्न पाउने भन्दै गर्न सल्लाह दिएपछि उनले 'सैयाँ हमार' मा काम गरे। फिल्म ठूलो हिट भयो र त्यसपछि भोजपुरी सिनेमामा उनको पहिचान बलियो बन्यो।
हिन्दी फिल्महरू पश्चिमी शैलीतर्फ ढल्किइरहँदा आफूले भोजपुरी फिल्ममा माटो र स्थानीय संस्कृतिलाई स्थान दिएको उनले सुनाए। उनले हाँसेर भने, "हिन्दी फिल्ममा पिज्जा-बर्गर देखाइँदा मैले भोजपुरीमा लिट्टी-चोखा पस्किएँ।" सफलतापछि उनी दिनमा तीनदेखि चार सिफ्टसम्म सुटिङ गर्थे। यसैबीच 'कौन बनेगा करोडपति' को एक विशेष एपिसोडमा माधुरी दीक्षितसँग हटसिटमा देखिन लागेका किशनले आफूबारे फैलिएको एउटा अफवाहबारे पनि कुरा गरेका छन्। मानिसले उनी क्यामेराअघि २० लिटर दूध र गुलाबका पत्तीले नुहाउँछन् भन्ने गरेको सुनेर आफू हाँस्दै ढलेको उनले बताए। छठ पूजाको रातभर गोरखपुरका घाटमा घुमेर बिहान उडानमार्फत सुटिङमा पुग्दा त्यहाँ न दूध थियो न गुलाबका पत्ती भन्दै उनले अफवाह खण्डन गरे। माधुरीले पनि किशन रातभर यात्रा गरेर आउँदा तुरुन्तै काममा लाग्ने गरेको भन्दै अफवाह गलत भएको पुष्टि गरिन्।
कमेन्ट गर्नुहोस्
view comments