सनातन धर्ममाथि अपमान र धर्म परिवर्तनको षड्यन्त्र भइरहेको रामदेवको आरोप

52 मिनट पहिले प्रकाशित

एजेन्सी, कार्तिक ११ गते ।  योगगुरु बाबा रामदेवले सनातन धर्मको अपमान गर्दै मानिसलाई धर्मबाट विमुख बनाउने तथा इसाई र मुस्लिम बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। बुधबार हरिद्वारमा आयोजित पत्रकार सम्मेलनमा उनले सनातन धर्मसँग जोडिएका करोडौँ मानिसलाई मुस्लिम, इसाई वा नास्तिक बनाइएको र लाखौँ मानिसलाई आफ्नो पुर्खा तथा मूल पहिचानबाट अलग गरिएको दाबी गरे। उनले भारतको विकासबाट भारतविरोधी शक्तिहरू चिन्तित रहेको उल्लेख गर्दै सनातन धर्मविरुद्ध निरन्तर षड्यन्त्र भइरहेको आरोपसमेत लगाए।

रामदेवले भगवान् रामलाई धनी र भगवान् शिवलाई गरिबका देवता भनेर व्याख्या गरिएकोप्रति आपत्ति जनाउँदै धार्मिक आस्थालाई धनी–गरिबको विभाजनमा राख्नु गलत भएको बताए। उनका अनुसार सनातन धर्मका सिद्धान्त विज्ञानमा आधारित छन् र योग तथा आयुर्वेदप्रति विश्वभर आकर्षण बढिरहेको छ। उनले विश्वभर दुई अर्ब सनातनी रहेको दाबी गर्दै भारतका मुस्लिम समुदायका अधिकांश पुर्खा हिन्दू रहेको जिकिर पनि गरे। उनका यी भनाइहरू पत्रकार सम्मेलनमा व्यक्त दाबी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?