२८ छक्का प्रहार गर्दै वैभव सूर्यवंशीले रचे इतिहास
9 घन्टा पहिले प्रकाशित
एजेन्सी, मंसिर १० गते । भारतीय क्रिकेटका युवा प्रतिभा वैभव सूर्यवंशीले आफ्नो विस्फोटक ब्याटिङबाट क्रिकेट जगतलाई चकित पारेका छन्। मात्र १४ वर्षको उमेरमा उनले राइजिङ स्टार्स एसिया कपअन्तर्गत यूएईविरुद्ध ५३ बलमा अविजित २०४ रन बनाउँदै ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। तर, उनको यो अविश्वसनीय प्रदर्शनसँगै पूर्व भारतीय क्रिकेटर संजय मांजरेकरको टिप्पणीले क्रिकेटमा ब्याट र बलबीचको सन्तुलनबारे नयाँ बहस सुरु गराएको छ।
दोहामा मंगलबार भएको खेलमा इन्डिया ए बाट खेलेका वैभवले ५३ बलको सामना गर्दै ७ चौका र २८ छक्का प्रहार गरे। उनले केवल २८ बलमा शतक पूरा गरेका थिए भने ५२ बलमै दोहोरो शतक बनाउँदै नयाँ कीर्तिमान रचे।
मांजरेकरले वैभवको प्रतिभाको प्रशंसा गरे पनि आधुनिक सीमित ओभरको क्रिकेटमा ब्याट्सम्यानलाई अत्यधिक फाइदा भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
संजय मांजरेकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “वैभवमा केही विशेष प्रतिभा छ भन्नेमा कुनै शंका छैन। तर उनले गरेको प्रदर्शनले एकदिवसीय तथा टी–२० क्रिकेटमा ब्याट र बलबीचको सन्तुलन कति बिग्रिँदै गएको छ भन्ने देखाउँछ। दर्शकले यही मात्र हेर्न चाहन्छन् भन्ने सोच्नु गलत हो। क्रिकेट ब्याट र बल दुवैको खेल हो, केवल ब्याटको होइन।”
लगातार दुई खेलमा निराशाजनक प्रदर्शनपछि ऐतिहासिक पुनरागमन
वैभवका लागि यूएईविरुद्धको यो पारी विशेष रह्यो। प्रतियोगिताको सुरुवाती दुई खेलमा उनले नेपालविरुद्ध २६ र पाकिस्तान ए विरुद्ध ११ रन मात्रै बनाएका थिए। त्यसैगरी, सैयद मुस्ताक अली ट्रफीमा बिहारको कप्तानी गर्दै सौराष्ट्रविरुद्ध खेल्दा उनी १८ रनमा आउट भएका थिए।
तर यूएईविरुद्धको विस्फोटक ब्याटिङले उनले उत्कृष्ट पुनरागमन गरेका छन्।
युवराज सिंहको सुझावले बदलियो ब्याटिङ शैली
वैभवले बीसीसीआईको वेबसाइटमा सार्वजनिक भिडियोमार्फत यूएईविरुद्धको खेलअघि पूर्व भारतीय अलराउन्डर युवराज सिंहसँग करिब आधा घण्टा कुराकानी गरेको बताएका छन्।
आफ्नो आदर्श खेलाडी युवराजले ब्याटिङका केही प्राविधिक कमजोरी सुधार गर्न सुझाव दिएको र क्रिजमा बढी समय बिताउन सल्लाह दिएको उनले बताए।
अब इन्डिया ए टोलीले बिहीबार प्रतियोगिताको सेमिफाइनलमा श्रीलंका एसँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेलमा पनि सबैको नजर युवा ब्याट्सम्यान वैभव सूर्यवंशीमाथि रहनेछ।
कमेन्ट गर्नुहोस्
view comments