बंगलादेशमा राजनीतिक तनाव उत्कर्षमा, विभिन्न स्थानमा बम विस्फोट र आगजनी

22 मिनट पहिले प्रकाशित

एजेन्सी,मंसिर ३ गते ।  बंगलादेशमा राजनीतिक तनाव बढ्दै जाँदा विभिन्न स्थानमा हिंसात्मक घटना भएका छन्। पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले देशव्यापी बन्द आह्वान गरेको दिन राजधानी ढाकाका विभिन्न क्षेत्रमा बम विस्फोट भएका छन्। यसैबीच, चटगाउँस्थित पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको पैतृक निवासमा अज्ञात समूहले आगजनी गरेको छ। पछिल्ला घटनामा कम्तीमा चार जना घाइते भएको प्रहरीले जनाएको छ। घटनापछि ढाकामा प्रहरीले २४ घण्टे सुरक्षा अभियान सञ्चालन गरी ५६५ जनालाई पक्राउ गरेको छ।

चटगाउँको पञ्चलाइश क्षेत्रमा युनुसका पिताको घरमा आगजनी भएको हो। यसअघि ग्रामीण बैंकका विभिन्न शाखा, राजनीतिक दलका कार्यालय तथा नेताहरूका निजी सम्पत्तिमाथि पनि आक्रमण भएको थियो। ढाकामा अवामी लिगका दुई नेताका घरमा आगजनी गरिएको छ भने बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कम्तीमा दुई कार्यालय र एक नेताको निवाससमेत निशानामा परेका छन्। पछिल्ला दुई दिनमा अवामी लिगका पार्टी कार्यालय र नेताहरूका निजी सम्पत्तिमाथि पनि आक्रमण भएको विवरण सार्वजनिक भएको छ। देशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा सवारीसाधन जलाउने र दर्जनौँ कच्चा बम विस्फोटका घटना भएका छन्। जारी हिंसाका कारण देशको सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?