बाढी प्रभावित बालबालिकाको दीर्घकालीन स्याहारका लागि रसुवाबाट योजना सुरु, सुत्केरी र नवजातले पाए मासिक रु १७,५००

20 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, मंसिर ११ गते । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसीबाट सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण र स्याहार योजना सुरु गरेको छ। बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उनकी नवजात छोरीलाई आर्थिक सहायता दिँदै महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले बिहीबार योजनाको थालनी गरिन्। पीडित महिलाको बैंक खातामा पहिलो महिनाको रु १७ हजार ५०० जम्मा गरिएको छ, र ती बालिकाले १८ वर्ष नपुगेसम्म आमासँगै बसेर हरेक महिना यही रकम पाउनेछिन्। आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका र विशेष संरक्षण चाहिने बालबालिकाको पनि दीर्घकालीन भरणपोषणको व्यवस्था गरिने मन्त्री वादीले बताइन्।

विपद् प्रभावित बालबालिकालाई सहयोग गर्ने बहानामा कुनै व्यक्ति वा संस्थाले आफूखुसी अन्यत्र लैजान नपाउने उनको स्पष्ट भनाइ छ। स्थानीय तहको सिफारिस र राष्ट्रिय बाल अधिकार परिषद्को समन्वयबिना बालगृह वा अस्थायी संरक्षण केन्द्रमा लैजान पाइँदैन। हालसम्म साझेदार संस्थामार्फत ८१० बालबालिकाको दीर्घकालीन स्याहारको व्यवस्था मिलाइएको छ, जसमा एमआइटिजीएफबाट १५०, एसओएस चिल्ड्रेन भिलेजबाट ६५० र प्रविना फाउन्डेसनबाट १० जनालाई सहयोग पुग्नेछ। मन्त्रालयको बालकोषमा रु सात करोड रहेको छ भने बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि एमआइटिजीएफ र नेपाल सरकारबीच रु ५८ करोडको सम्झौता भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?