जनकपुर–अयोध्या प्रत्यक्ष रेल सेवा मंसिर ७ देखि, दुवै देशका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्ने

18 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २९ गते ।  नेपालको जनकपुरधाम र भारतको अयोध्याधामबीच प्रत्यक्ष रेल सेवा सञ्चालन हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार भारत भ्रमणमा जानेछन् भने त्यसको भोलिपल्ट मंसिर ७ गते सोमबार अयोध्याबाट जनकपुरका लागि पहिलो रेल सञ्चालन गरिनेछ। रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले सुरु हुन लागेको यो सेवाले दुवै देशका श्रद्धालु तथा पर्यटकको आवागमन सहज बनाउनुका साथै जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रारम्भिक चरणमा रेल हप्तामा एक पटक सञ्चालन हुनेछ। जनकपुरबाट प्रत्येक शनिबार अयोध्याका लागि रेल छुट्नेछ भने अयोध्याबाट सोमबार जनकपुर फर्किने व्यवस्था मिलाइएको छ।

जनकपुरदेखि गोरखपुर हुँदै अयोध्यासम्म करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेलमार्गमा जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुरलगायतका रेल्वे स्टेसन पर्नेछन्। भारतीय रेलवे मन्त्रालयले माता सीताको जन्मभूमि जनकपुर र भगवान् रामको जन्मभूमि अयोध्याबीचको सम्पर्कलाई धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण मानेको छ। यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणका क्रममा जयनगरदेखि कुर्थासम्म १७ डिब्बे रेलको परीक्षण गरिएको थियो। नेपालले आफ्नै व्यवस्थापनमा सेवा सञ्चालन गर्ने तयारी पूरा नगरेसम्म भारतीय पक्षले नै रेल सञ्चालन गर्ने सहमति भएको छ। प्रारम्भिक चरणमा सञ्चालन र टिकट दर निर्धारणको जिम्मेवारीसमेत भारतीय पक्षले सम्हाल्ने जनाइएको छ।

 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?