मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ
9 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, मंसिर ६ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार मधेश प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले यादवलाई शपथ गराएका हुन् । शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले प्रदेशमा सुशासन कायम गर्नु र भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताए ।
मुख्यमन्त्री यादवले सहमतिका आधारमा मन्त्रिपरिषद् विस्तार गरिने जानकारी दिँदै त्यसको प्रक्रिया सोमबारदेखि अघि बढाउने बताएका छन् । यसअघि शनिबार प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
कमेन्ट गर्नुहोस्
view comments