मधेशको पूर्वाधार विकासमा ५० अर्बभन्दा बढी बजेट विनियोजन गरिएको छ : पूर्वमन्त्री लम्साल

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, मंसिर ३ गते ।  सङ्घीय सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मधेश प्रदेशलाई विकास निर्माणको प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षमा भौतिक पूर्वाधारतर्फ ५० अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम नगर कमिटीले बुधबार आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सडक, पुल, भवन र खानेपानीलगायतका क्षेत्रमा मधेशले सबैभन्दा बढी बजेट प्राप्त गरेको दाबी गर्नुभयो। कमला पुलसहित हुलाकी राजमार्गका अधुरा पुल निर्माण सम्पन्न गर्ने तथा बजार क्षेत्रमा राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजना अघि बढाइएको उहाँले जानकारी दिनुभयो। जनकपुरधामको पूर्वाधार विकासका लागि थप छलफल गरी आवश्यकता र औचित्यका आधारमा योजना तथा बजेट उपलब्ध गराउने उहाँको भनाइ थियो।

कार्यक्रममा लम्सालले निर्माण क्षेत्रमा कार्यरत श्रमिकमध्ये ७० प्रतिशतभन्दा बढी मधेश प्रदेशका रहेको उल्लेख गर्दै पारिश्रमिक वृद्धिबाट यहाँका श्रमिक बढी लाभान्वित हुने बताउनुभयो। उहाँका अनुसार निर्माण श्रमिकको दैनिक ज्याला ७५० रुपैयाँभन्दा बढी र दक्ष कामदारको पारिश्रमिक एक हजारदेखि दुई हजार रुपैयाँसम्म पुग्नेछ। यसैगरी, मधेशका सहर तथा बस्तीलाई स्वच्छ र व्यवस्थित बनाउन स्थानीय तहले सरसफाइ अभियानलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो। सरसफाइमा स्थानीय सरकारको मुख्य जिम्मेवारी रहे पनि आवश्यक सहयोग सङ्घीय सरकारले उपलब्ध गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक गतिविधि व्यवस्थित र अनुशासित रूपमा सञ्चालन गर्नसमेत आग्रह गर्नुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?