छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै; मिथिलाका घाटमा भक्तिमय माहोल
18 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक २९ गते । आस्था, निष्ठा र लोकसंस्कृतिको अनुपम सङ्गम मानिने छठ महापर्वको मुख्य दिन आज बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दैछन्। चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने पर्वको तेस्रो दिन बर्तालु निराहार व्रत बसेर साँझ जलाशयमा पुग्नेछन् र सूर्यदेव तथा षष्ठीदेवीको आराधना गरी अर्घ्य दिनेछन्। यससँगै मिथिलाका गाउँबस्ती, सहर र पोखरीका घाटहरू भक्तिमय बन्नेछन्। जनकपुरधामको ऐतिहासिक गङ्गासागर, धनुषसागर, अरगज्जा पोखरीलगायत जलाशयमा छठ मनाउने श्रद्धालुको चहलपहल बढेको छ। विशेषगरी गङ्गासागरमा हुने सामूहिक पूजाआजा, सजावट र मैथिली लोकगीतले जनकपुरको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप जीवन्त बनाउने गरेको छ। छठको अवसरमा गुञ्जिने ‘छठी मैया अँगना पधारु’ र ‘उगु हे सुरुज देव, अरघके बेर भेल’ जस्ता लोकभाकाले वातावरणलाई भक्तिरसले भरिदिएका छन्।
मिथिलाको मौलिक लोकपरम्परामा छठका प्रत्येक विधिसँग विशेष गीत जोडिएका छन्। नहाय–खाय, खरना, अस्ताउँदो सूर्यलाई अर्घ्य दिने सझुकाअरख र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने पारनसम्मका अनुष्ठानमा सूर्यदेव र छठीमाताको महिमा गाइन्छ। यी गीतमा परिवारको सुख, सन्तानको दीर्घायु, आरोग्य र समृद्धिको कामनासँगै प्रकृतिप्रतिको कृतज्ञता तथा सामाजिक सद्भावको सन्देश पाइन्छ। जनकपुरधामको गङ्गासागर छठका बेला धार्मिक आस्था र सामूहिक एकताको प्रमुख केन्द्रका रूपमा देखिने गरेको छ। महिला तथा पुरुष दुवैले व्रत लिन सक्ने परम्परा भए पनि अधिकांश परिवारमा महिलाले यसको नेतृत्व गर्दै आएका छन्। लोकगीत, सामूहिक सहभागिता र परम्परागत विधिले छठलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी मिथिलाको सांस्कृतिक पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अमूल्य सम्पदाका रूपमा स्थापित गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments