प्रेमिका भेट्न गएका २० वर्षीय युवक कोठामै मृत फेला, प्रेमिका प्रहरी नियन्त्रणमा

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, मंसिर ४ गते ।  सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक २० वर्षीय युवक मृत फेला परेका छन्। मृत्यु हुनेमा हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका अमित चौधरी रहेका छन्। उनी बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्ग क्षेत्रमा रहेको प्रेमिकाको कोठामा अचेत अवस्थामा फेला परेका थिए।

कोठामा अचेत अवस्थामा भेटिएका चौधरीलाई तत्काल उपचारका लागि मोडेल अस्पताल लालबन्दी लगिएको थियो। तर, अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। पोस्टमार्टम रिपोर्ट नआएसम्म उनको मृत्युको वास्तविक कारण खुल्न सकेको छैन।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले मृतककी प्रेमिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। घटनाको प्रकृति र मृत्युको कारणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले पोस्टमार्टम रिपोर्ट र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा घटनाको वास्तविकता सार्वजनिक गर्ने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?