पहिलो पटक छठको खरना महोत्सव सम्पन्न

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २६ गते । छठ पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वलाई थप उजागर गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धनुषामा पहिलोपटक खरना महोत्सव आयोजना गरिएको छ। होटल तथा पर्यटन व्यवसायी संघ धनुषाको आयोजनामा बिहीबार स्थानीय सगुन ग्यालेक्सी होटलमा महोत्सव सम्पन्न भएको हो। संघका अध्यक्ष रुपेश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा ५० जना छठ व्रतालु महिलाको सहभागिता रहेको थियो। छठ पर्वको दोस्रो दिन मनाइने खरनाको परम्परा, धार्मिक आस्था र सांस्कृतिक विशेषतालाई सामूहिक रूपमा प्रस्तुत गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।

मिथिलाको मौलिक संस्कृति र जनजीवनसँग गहिरो सम्बन्ध राख्ने छठ पर्व पछिल्लो समय धार्मिक अनुष्ठानमा मात्र सीमित नरही सामाजिक एकता, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण आधारसमेत बन्दै गएको छ। यही सम्भावनालाई ध्यानमा राखेर खरना महोत्सवमार्फत छठको परम्परालाई व्यापक रूपमा प्रचारप्रसार गर्ने तथा यससँग जोडिएका सांस्कृतिक गतिविधिलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने प्रयास गरिएको संघले जनाएको छ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी विजय झुनझुनवाला, अशोक जलान, दीपेन्द्र पराजुली, विष्णु साह, उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष सञ्जीव ठाकुर तथा सुदर्शनलाल कर्णलगायतले मन्तव्य राखेका थिए। वक्ताहरूले छठ पर्वको मौलिकता, धार्मिक विश्वास र सामाजिक महत्त्वलाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रम उपयोगी हुने धारणा राखेका थिए। उनीहरूले धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्न सके जनकपुरधामसहित मधेस प्रदेशको पर्यटन व्यवसायमा नयाँ सम्भावना सिर्जना हुन सक्नेमा जोड दिएका थिए।

महोत्सव सफल बनाउन संघका वरिष्ठ उपाध्यक्ष सन्तोष गुप्ता, कार्यवाहक महासचिव रवि गुप्ता, कोषाध्यक्ष अमित ठाकुर, महिला उपाध्यक्ष सीता चौहान तथा सदस्य सुनैना ठाकुरलगायतले सक्रिय भूमिका निर्वाह गरेका थिए। आयोजकका अनुसार खरना महोत्सवको मुख्य उद्देश्य छठ पर्वको विशेषता र महत्त्वलाई व्यापक रूपमा प्रचारप्रसार गर्नुका साथै धार्मिक तथा सांस्कृतिक पर्यटनमार्फत स्थानीय होटल र पर्यटन व्यवसायको सम्भावना विस्तार गर्नु हो। कार्यक्रमको सञ्चालन मिस आर्ट र गायत्री मिश्राले गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?