प्रधानमन्त्री शाहको भारत भ्रमणमा हवाई रुटदेखि जनकपुर–अयोध्या रेल उद्घाटनसम्मका एजेन्डा

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, मंसिर १ गते ।  प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई नेपाल–भारतबीच लामो समयदेखि छलफलमा रहेका पूर्वाधार, हवाई सम्पर्क, ऊर्जा र आर्थिक सहयोगसम्बन्धी विषय अघि बढाउने अवसरका रूपमा हेरिएको छ। सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते नेपाल वायुसेवाको नियमित उडानबाट दिउँसो १:२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछन्। त्यस दिन उनको औपचारिक कार्यक्रम नरहे पनि नेपाली राजदूतावास जाने सम्भावना छ। मंसिर ७ गते भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबाट राष्ट्रपति भवनमा गार्ड अफ अनर ग्रहण गरेपछि उनीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरमा वार्ता हुनेछ। यही क्रममा दुई देशबीचका सम्भावित सम्झौता तथा सहकार्यका विषय टुंग्याउने तयारी छ। भ्रमणको विशेष आकर्षणका रूपमा अयोध्याबाट जनकपुरसम्म सञ्चालन हुने रेल सेवाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ। सातामा एकपटक सञ्चालन हुने गरी उक्त रेल सेवाका लागि भारतले अनुमति दिइसकेको बताइएको छ।

आर्थिक सहकार्यतर्फ भारतले नेपाललाई एक खर्ब भारतीय रुपैयाँ सहुलियतपूर्ण ऋण र अर्को एक खर्ब रुपैयाँ अनुदान गरी कुल दुई खर्ब भारतीय रुपैयाँ सहयोग उपलब्ध गराउने विषयमा सकारात्मक संकेत दिएको बताइएको छ। प्रस्तावित अनुदानमध्ये ५० अर्ब रुपैयाँ रसुवा बाढीपछिको पुनर्निर्माण र ५० अर्ब रुपैयाँ बुटवल–पोखरा द्रुतमार्ग निर्माणमा खर्च गर्ने नेपालको योजना छ। यसैगरी, महेन्द्रनगरबाट ३९ हजार फिट उचाइमा विमान प्रवेश गर्न मिल्ने हवाई रुट, भैरहवा विमानस्थल सञ्चालनका लागि भारतीय आकाश प्रयोग गर्ने अनुमति तथा पोखरामा भारतीय सहरबाट सीधा उडान सञ्चालन गर्ने विषय पनि छलफलमा छन्। रक्सौल–काठमाडौं रेलमार्ग, सीमापार पेट्रोलियम पाइपलाइन, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, विद्युत् व्यापार र महाकाली तेस्रो सिँचाइ आयोजनाका विषयलाई समेत नेपालले वार्ताको एजेन्डामा राखेको छ। यद्यपि, यीमध्ये अधिकांश विषयमा अन्तिम सहमति भइसकेको छैन। प्रधानमन्त्रीसँगै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र पर्यटनमन्त्री खड्कराज पौडेल पनि भारत भ्रमणमा जानेछन्। प्रधानमन्त्री शाह मंसिर ७ गते अपराह्न ४:२० बजे नेपाल फर्कने कार्यक्रम रहेको सरकारी स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?