काठमाडौं उपत्यकामा आजदेखि मासु जाँच ऐन लागू, छाप नलगाएको मासु बिक्रीमा प्रतिबन्ध
13 घन्टा पहिले प्रकाशित
काठमाडौं, मंसिर १ गते । उपभोक्तालाई स्वच्छ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले सरकारले २८ वर्षअघि बनेको ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ आजदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कार्यान्वयनमा ल्याएको छ। ऐन लागू भएसँगै पशुपन्छीको स्वास्थ्य परीक्षण गरेर मात्र वध गर्नुपर्ने र बिक्रीका लागि राखिने मासुमा अनिवार्य छाप लगाउनुपर्ने व्यवस्था गरिएको छ। पहिलो दिन करिब २० हजार कुखुरा, सात राँगा र दुई खसीको मासु परीक्षण गरी छाप लगाइएको छ। परीक्षणका क्रममा मरेका तथा अस्वस्थ पशुपन्छी र खान अयोग्य मासु हटाएर मात्र बिक्रीयोग्य मासुमा छाप लगाउने प्रक्रिया अघि बढाइएको कृषि मन्त्रालयले जनाएको छ।
सरकारले यसअघि राजपत्रमा सूचना प्रकाशित गरी ऐनलाई तीन चरणमा देशभर लागू गर्ने निर्णय गरेको थियो। दोस्रो चरणमा आगामी माघ १ गतेदेखि महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा तथा तेस्रो चरणमा २०८४ साउन १ गतेदेखि सबै गाउँपालिकामा ऐन लागू हुनेछ। अब व्यावसायिक वधशाला सञ्चालन र मासु बिक्रीका लागि सम्बन्धित निकायबाट अनुमति लिनुपर्नेछ। मापदण्डविपरीत पशु वध गर्ने, निषेधित मासु बिक्री गर्ने वा छापबिनाको मासु बेच्नेलाई पहिलो पटक पाँच हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद अथवा दुवै सजाय हुन सक्ने व्यवस्था छ। पशु सेवा विभागले मासुको गुणस्तर परीक्षण तथा अनुगमनका लागि ९७० जना मासु निरीक्षक तयार पारेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments