एनपीएल पहिलो क्वालिफायर आज : फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

13 घन्टा पहिले प्रकाशित

काठमाडौं, मंसिर १ गते । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा फाइनल पुग्ने पहिलो टोलीको टुंगो आज लाग्दैछ। पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५ बजेदेखि सुरु हुने खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान सुरक्षित गर्नेछ। पराजित हुने टोलीको उपाधि यात्रासमेत तत्काल समाप्त हुने छैन। उसले फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग अर्को प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ।

गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो। यस सिजनको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियो। लगातार दुई प्रतिस्पर्धामा बेहोरेको हारको बदला लिँदै फाइनल यात्रा तय गर्ने लक्ष्यमा सुदूरपश्चिम छ। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा मैदान उत्रने टोली पहिलो अवसरमै उपाधि भिडन्तमा पुग्न चाहन्छ। उता, लुम्बिनी पनि अघिल्ला सफलतालाई निरन्तरता दिँदै उपाधि रक्षा अभियानलाई थप बलियो बनाउने योजनामा छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?