मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, मधेसमा नयाँ सरकार गठन प्रक्रिया सुरु

18 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २९ गते ।  मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन्। उक्त संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने सदस्यले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न सक्नेछन्।

प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि इच्छुक प्रदेशसभा सदस्यलाई आगामी मङ्सिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म दाबी पेस गर्न समयसीमा तोकेको छ। संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिएका यादवको राजीनामा स्वीकृत भएपछि प्रदेशमा नयाँ सत्ता समीकरण र सरकार गठनको प्रक्रिया अघि बढेको हो। अब प्रदेशसभामा दलहरूबीच हुने सहमति र बहुमत जुटाउने प्रयासले मधेस प्रदेशको आगामी राजनीतिक नेतृत्व निर्धारण गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?