राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, भाटभटेनीलाई विशेष सम्मान

13 घन्टा पहिले प्रकाशित

काठमाडौं, मंसिर १ गते ।  राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले विभिन्न १९ विधामा उत्कृष्ट योगदान पुर्‍याउने करदातालाई सम्मान गरेको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्मानित करदातालाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका हुन्। यस वर्ष भाटभटेनी सुपरमार्केटले विशेष सम्मान प्राप्त गरेको छ। जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २३ र २४ गते उसका १२ वटा स्टोरमा आगजनी, तोडफोड तथा लुटपाट हुँदा अर्बौं रुपैयाँको क्षति भए पनि कम्पनीले कर्मचारीको रोजगारी सुरक्षित राख्दै पुनः लगानी गरेर अधिकांश स्टोर सञ्चालनमा ल्याएको योगदानको कदर गर्दै उक्त सम्मान दिइएको हो।

यसैगरी, व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर बुझाउने करदाताका रूपमा राजबहादुर शाह र संस्थागततर्फ सूर्य नेपाल प्रालि सम्मानित भएका छन्। सरकारले प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै कर प्रणालीमा योगदान गर्ने उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ। करदाताको योगदानको कदर गर्नुका साथै करप्रतिको जिम्मेवारी र राजस्व संकलनमा सहभागिता बढाउने उद्देश्यले यस्तो सम्मान प्रदान गरिँदै आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?