आत्मपूजा, सांस्कृतिक विरासत र सामाजिक सद्भावको सन्देशसहित प्रधानमन्त्री शाहको शुभकामना
10 घन्टा पहिले प्रकाशित
काठमाडौं, कार्तिक २४ गते । नेपाल संवत् ११४७ को सुरुवातसँगै प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको मौलिक संस्कृति, ऐतिहासिक योगदान र सामाजिक एकताको महत्त्वलाई जोड दिएका छन्। नेपाल संवत् तथा म्हः पूजाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाले सर्वसाधारणलाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् नेपाली समाजको ऐतिहासिक गौरव र मौलिक पहिचान भएको बताएका छन्। चन्द्रमामा आधारित यस संवत्ले नेपालको आफ्नै सांस्कृतिक परम्परा र समय गणनाको इतिहास बोकेको उल्लेख गर्दै उनले चाडपर्वलाई आपसी वैमनस्य बिर्सने र सामाजिक सम्बन्ध बलियो बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
म्हः पूजाको परम्परालाई आत्मसम्मान र आत्मचिन्तनसँग जोड्दै प्रधानमन्त्रीले आफ्नै शरीर तथा चेतनाको पूजा गर्ने यस अभ्यासले व्यक्तिलाई आत्मबोध गराउने उल्लेख गरेका छन्। यसले नेवार समुदायको सांस्कृतिक निरन्तरता कायम राख्नुका साथै आपसी विश्वास र सामाजिक एकतालाई बलियो बनाउने उनको विश्वास छ। त्यस्तै, गोवर्धन पूजा तथा हली तिहारले कृषि कर्म, श्रम र कृषिसँग जोडिएका परम्पराको महत्त्व स्मरण गराउने बताएका छन्। देउसी–भैलोले छरछिमेकमा सम्बन्ध प्रगाढ बनाउने उल्लेख गर्दै उनले मौलिक चाडपर्वलाई सामाजिक सद्भाव र सहिष्णुता अभिवृद्धि गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्। प्रधानमन्त्री शाहले यी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments