हिमपात र वर्षाले हुम्लाको जनजीवन प्रभावित, सञ्चार सेवा अवरुद्ध

14 घन्टा पहिले प्रकाशित

काठमाडौं, असोज १२ गते ।  निरन्तर वर्षासँगै भएको हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित भएको छ। जिल्ला सदरमुकाम सिमकोटसहित जिल्लाका अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्क प्रभावित भएको हो। अग्ला स्थानमा रहेका टेलिफोन तथा इन्टरनेट टावरमा जडान गरिएका सौर्य प्रणालीले काम गर्न नसकेपछि सञ्चार सेवा अवरुद्ध भएको जनाइएको छ। लगातारको वर्षा र हिमपातका कारण सौर्य प्रणालीमा समस्या आएपछि जिल्लाका विभिन्न क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएको हो। सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सरकारी कार्यालयबीच समन्वय गर्न समस्या भएको छ भने वर्षा र हिमपातबाट भएका क्षतिको विवरण संकलन तथा आवश्यक सूचना आदानप्रदानमा समेत कठिनाइ भएको छ।

निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्यालय भवनमा समेत क्षति पुगेको बताइएको छ। वर्षासँगै सडक अवरुद्ध भएपछि जिल्लाभित्रको आवतजावतमा समस्या भएको छ। यसैगरी, सिमकोटसहित उच्च भूभागमा हिमपात जारी रहेको छ भने चीनसँग सीमा जोडिएको हिल्सा नाका पनि हिमपातका कारण पूर्णरूपमा अवरुद्ध रहेको जनाइएको छ। लगातारको प्रतिकूल मौसमका कारण यातायात सेवा प्रभावित हुनुका साथै जिल्लाको दैनिक जनजीवन र गतिविधिमा समेत असर परेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?