राजनीतिक गतिविधिमा लागे शिक्षकलाई कारबाही, निगरानी बढाउन निर्देशन
17 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज ६ गते । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका छन्। सामाजिक सञ्जालमार्फत शिक्षक राजनीतिक गतिविधिमा संलग्न भएको विषय सार्वजनिक भएपछि मन्त्री पोखरेलले देशभरका विद्यालयमा शिक्षक तथा कर्मचारीको राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन दिएका हुन्।
यसैबीच, शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई शिक्षकको राजनीतिक दलका कार्यक्रममा सहभागिताबारे निगरानी गर्न पत्राचार गरेको छ। सिन्धुलीमा पनि दुधौली, सुनकोशी र तीनपाटनका स्थानीय तहलाई सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक कार्यक्रममा सक्रिय भएको पाइए कारबाही गर्न निर्देशन दिइएको छ। एकाइका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीका आधारमा चार शिक्षक तथा कर्मचारीको राजनीतिक गतिविधिमा संलग्नता देखिएको उल्लेख गर्दै कानुनबमोजिम कारबाही गर्न भनिएको छ।
कमेन्ट गर्नुहोस्
view comments