अमेरिकाबाट भोटेकोशी बाढीपीडितका लागि १ करोड ४२ लाख सहयोग

15 घन्टा पहिले प्रकाशित

एजेन्सी, असोज १२ गते ।  अमेरिकाको भर्जिनियास्थित अमेरिका नेपाल सहयोगी समाजले रसुवा–भोटेकोशी बाढीपहिरो प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि संकलन गरेको ९२ हजार ९६४ अमेरिकी डलर (करिब १ करोड ४२ लाख रुपैयाँ) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनाललाई संस्थाका प्रतिनिधिले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाइएको छ।

रकम ग्रहण गर्दै मन्त्री खनालले विपद्को समयमा प्रवासी नेपाली समुदायले गरेको सहयोगको प्रशंसा गर्दै रकमको प्रभावकारी सदुपयोग गरिने बताए। कार्यक्रममा अमेरिका नेपाल सहयोगी समाजकी अध्यक्ष कामना पन्थी, बोर्ड अफ ट्रष्टीजका अध्यक्ष केदारप्रसाद तिम्सिनालगायत संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता थियो। उनीहरूले प्रवासमा रहेका नेपाली समुदायका समस्या र समाधानका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमबारे सुझावसमेत दिएका थिए। सन् २००८ मा स्थापना भएको उक्त संस्थाले अमेरिकामा नेपाली समुदायबीच विभिन्न सामाजिक तथा परोपकारी गतिविधि सञ्चालन गर्दै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?