कांग्रेस महाधिवेशन : देउवा समूहमा सभापतिदेखि वडा तहसम्म उम्मेदवारी शुल्क तोकियो
15 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज १२ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पूर्वसभापति शेरबहादुर देउवा समूहले गर्ने निर्वाचनका लागि केन्द्रीय निर्वाचन समितिले विभिन्न तहका पदाधिकारी तथा सदस्यका उम्मेदवारले बुझाउनुपर्ने मनोनयन शुल्क निर्धारण गरेको छ। निर्वाचन निर्देशिकाअनुसार केन्द्रीय सभापतिका लागि ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ। केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २ हजार ५ सय र महासमिति सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि ५ सय तथा प्रदेश महाधिवेशन प्रतिनिधिका लागि १ हजार रुपैयाँ तोकिएको छ। प्रदेश कार्यसमिति सभापतिका लागि १० हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार तथा सदस्यका लागि ३ हजार रुपैयाँ मनोनयन शुल्क राखिएको छ। जिल्ला सभापतिका लागि ५ हजार, उपसभापति तथा सचिवका लागि ३ हजार ५ सय, सहसचिवका लागि ३ हजार र सदस्यका लागि १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ।
वडा तहमा गाउँ–नगर वडा सभापतिका लागि २५० रुपैयाँ, गाउँपालिका सभापतिका लागि १ हजार, नगरपालिका सभापतिका लागि २ हजार तथा उपमहानगरपालिका र महानगरपालिका सभापतिका लागि २ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि २ हजार ५ सय र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि ३ हजार ५ सय रुपैयाँ मनोनयन शुल्क तोकिएको छ। यसैबीच, संस्थापन पक्षले सञ्चालन गरिरहेको महाधिवेशनका लागि पनि छुट्टै मनोनयन शुल्क निर्धारण गरिएको छ। संस्थापन पक्षको निर्देशिकाअनुसार केन्द्रीय सभापतिका लागि ४० हजार, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै वडा सभापतिका लागि १ हजार, गाउँपालिका र नगरपालिका सभापतिका लागि ५ हजार तथा उपमहानगरपालिका र महानगरपालिका कार्यसमिति सभापतिका लागि ७ हजार रुपैयाँ मनोनयन शुल्क लिने व्यवस्था गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments