पूर्वप्रधानन्यायाधीश जबराले मागे आफ्नो र परिवारको सुरक्षा

14 घन्टा पहिले प्रकाशित

काठमाडौं, असोज १२ गते । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू र आफ्नो परिवारको शान्ति सुरक्षामा चुनौती रहेको भन्दै थप सुरक्षा व्यवस्था गर्न प्रहरीसँग माग गर्नुभएको छ। उहाँका तर्फबाट छोरा सचिन्द्रशमशेर जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिँदै निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको ध्यान पुग्नुपर्ने माग गर्नुभएको हो। निवेदनमा देशको पछिल्लो अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासम्बन्धी विषयका कारण आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख छ। आफूले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिका प्रमुखका रूपमा गरेका न्यायिक निर्णयका कारणसमेत थप असुरक्षा महसुस भएको जबराको भनाइ छ।

प्रहरीले जबरालाई शनिबार राति उहाँकै निवासबाट पक्राउ गरी आइतबार दिउँसो छाडेको थियो। त्यसपछि उहाँले प्रहरीसमक्ष शान्ति सुरक्षाको माग गर्दै निवेदन दिनुभएको हो। निवेदनमा आफू असुरक्षित रहेको विषय पक्राउ परेपछि मात्र थाहा पाएको उल्लेख गर्दै पछिल्लो समय आफूले केही सुरक्षा चुनौतीसम्बन्धी जानकारी पाएको बताइएको छ। शनिबार राति निवासबाटै पक्राउ गरिएका जबरालाई प्रहरीले उहाँकै सुरक्षाका लागि नियन्त्रणमा लिएको जनाएको थियो। यद्यपि, उहाँलाई कसबाट सुरक्षा खतरा रहेको हो भन्ने विषय प्रहरीले सार्वजनिक गरेको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?