कांग्रेसको क्षेत्रीय अधिवेशन १३ जिल्लामा जारी, वर्षाले तालिका प्रभावित

13 घन्टा पहिले प्रकाशित

काठमाडौं, असोज ११ गते ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आइतबार १३ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन भइरहेको छ। झापा, मोरङ, काठमाडौं, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट र सुर्खेतमा क्षेत्रीय अधिवेशन जारी रहेको हो। लगातारको वर्षाका कारण प्रभावित भएका क्षेत्रका लागि केन्द्रीय निर्वाचन समितिले स्थानीय मौसमको अवस्था हेरी असोज १३ गतेभित्र अनुकूल समयमा अधिवेशन सम्पन्न गर्न सकिने व्यवस्था गरेको छ। समितिका अनुसार यसअघि मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ भने विभिन्न जिल्लामा निर्वाचन प्रक्रिया जारी छ।

क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन हुने भएकाले कांग्रेसको महाधिवेशन प्रक्रियामा यसको महत्वपूर्ण भूमिका रहन्छ। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट सभापति, सचिव, सहसचिव, कोषाध्यक्षसहित क्षेत्रीय कार्यसमिति तथा विभिन्न समावेशी समूहबाट महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ। प्रदेशसभा क्षेत्रीय अधिवेशनले प्रदेशसभा क्षेत्रीय कार्यसमिति र प्रदेश प्रतिनिधि चयन गर्नेछ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका कायम राखेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?