उद्योगीको अप्ठेरोमा मधेस सरकार साथमा रहने अर्थमन्त्री भट्टराईको भनाइ

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज ५ गते ।  मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले उद्योगी–व्यवसायीलाई अप्ठेरो पर्दा प्रदेश सरकार अभिभावकका रूपमा साथमा रहने बताएका छन्। नेपाल इँटा उद्योग महासङ्घ मधेस प्रदेशको जनकपुरधाममा सम्पन्न चौथो वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै उनले प्रदेश सरकारको भूमिका कर सङ्कलनमा मात्र सीमित नरहेको बताए। व्यवसायीका समस्या समाधानका लागि सरकार निरन्तर संवाद र सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उनले भने, “सरकार कर असुल्नका लागि मात्रै होइन, व्यवसायीलाई अप्ठेरो परेको समयमा अभिभावकको भूमिकामा पनि उभिनुपर्छ।”

मन्त्री भट्टराईले व्यवसायीको मागअनुसार इँटामा लाग्दै आएको प्रतिइँटा करको सट्टा प्रतिउद्योग कर लगाउने व्यवस्था सम्बोधन गरिएको उल्लेख गर्दै बाँकी समस्या पनि मन्त्रालयमा छलफल गरी समाधान खोज्ने बताए। प्रदेशको अधिकार क्षेत्रभित्रका विषय प्रदेशबाटै सम्बोधन गर्ने र सङ्घीय सरकारसँग समन्वय आवश्यक पर्ने विषयमा पहल गर्ने उनको भनाइ थियो। कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले विकास निर्माणमा स्थानीय इँटाको प्रयोग बढाउन पहल गर्नुपर्ने बताए। उद्योगीहरूले कोरोना महामारीपछि इँटा उद्योग सङ्कटमा परेको, माटो र कोइला आपूर्तिमा समस्या तथा लागत वृद्धि भएको बताएका छन्। महासङ्घका मधेस प्रदेश अध्यक्ष विक्रमकुमार साहका अनुसार मधेसमा कुनै समय ७ सयभन्दा बढी इँटा उद्योग रहेकामा अहिले करिब ३२० उद्योग सञ्चालनमा छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?