विश्व अंगदान दिवस : अंगदानको अभावले प्रत्यारोपणका बिरामी उपचारको प्रतीक्षामा

11 घन्टा पहिले प्रकाशित

काठमाडौं, श्रावण २८ गते ।  आज विश्व अंगदान दिवस । मृत्युपछि आफ्नो अंग दान गरेर अर्को व्यक्तिलाई नयाँ जीवन दिने मानवीय भावनाबारे जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष अगस्ट १३ मा यो दिवस मनाइन्छ। दिवसका अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायत स्वास्थ्य संस्थाले अंगदानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्। नेपालमा अंग प्रत्यारोपणका लागि कानुनी तथा प्राविधिक आधार विस्तार भए पनि आवश्यकताअनुसार अंग उपलब्ध हुन सकेको छैन। विशेषगरी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्ने अभ्यास न्यून हुँदा प्रत्यारोपणका लागि आवश्यक अंगको अभाव रहेको छ।

अंगदानबारे पर्याप्त जानकारीको अभाव, सामाजिक तथा धार्मिक भ्रम र अस्पतालबीचको कमजोर समन्वयलाई प्रमुख चुनौतीका रूपमा लिइएको छ। नेपालमा हुने अधिकांश मिर्गौला प्रत्यारोपण अझै जीवित नजिकका आफन्तबाट प्राप्त अंगमा निर्भर छन्। यद्यपि आँखाको नानी दानमा भने नेपालले उल्लेख्य प्रगति गरेको छ। नेपाल आँखा बैंकमार्फत हजारौँ आँखाका नानी संकलन तथा प्रत्यारोपण भइसकेका छन्। सरकारले मृत्युपछि अंगदान गर्ने परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग तथा अंगदान प्रक्रियामा सहजीकरण गर्ने अस्पताललाई ७५ हजार रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ। विज्ञहरूले अंगदानको संस्कृति विकास गर्न मस्तिष्क मृत्युपछिको अंगदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?