उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र ११ गते । मिथिलाञ्चलको महान् सांस्कृतिक तथा धार्मिक पर्व छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै विधिवत् रूपमा सम्पन्न भएको छ। चार दिनसम्म कठोर व्रतसहित मनाइने यस पर्वको अन्तिम दिन सप्तमी तिथिमा व्रतालुहरूले घाटमा पुगेर सूर्यदेवको आराधना गरेका हुन्। अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका श्रद्धालुहरू बुधबार बिहानै पूजा सामग्री, ढाकी, डाला, माटोका हात्ती, फलफूल र नैवेद्यसहित छठ घाटमा भेला भई ‘उषाकालीन अर्घ’ दिएका थिए।
सन्तान प्राप्ति, रोगमुक्ति र पारिवारिक सुख–समृद्धिको कामनासहित मनाइने छठ पर्वमा सूर्य उपासनाको विशेष महत्व रहेको विश्वास गरिन्छ। सप्तरीको राजविराजसहित विभिन्न स्थानका भगवती मन्दिर पोखरी, कल्टुदास पोखरी र तुरन्ती पोखरीमा व्रतालुहरूले श्रद्धापूर्वक अर्घ अर्पण गर्दै पर्वको समापन गरेका छन्। उदाउँदो सूर्यलाई अर्घ दिएसँगै व्रत तोड्ने परम्परासमेत पूरा गरिएको छ, जसले छठलाई आत्मशुद्धि, अनुशासन र आस्थाको प्रतीक पर्वका रूपमा स्थापित गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments