जलेश्वर कारागारबाट फरार भारतीय कैदी पक्राउ : ६ महिनापछि सीमा क्षेत्रबाट नियन्त्रणमा
2 दिन पहिले प्रकाशित
जनकपुरधाम, चैत्र १० गते । जलेश्वर कारागारबाट गत भदौ २४ गते तोडफोड गरी फरार भएका भारतीय नागरिक सब्दुल नदाफलाई प्रहरीले सोमबार सीमा क्षेत्रबाट पक्राउ गरेको छ। भारतको बिहार राज्य, सीतामढी जिल्ला, बेला थानाअन्तर्गत बेताहा गाउँका नदाफलाई सम्सी गाउँपालिका नजिकको क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जलेश्वर कारागार प्रमुख अशोककुमार क्षेत्रीका अनुसार नदाफ चोरी तथा डाँका मुद्दामा महोत्तरी जिल्ला अदालतको आदेशले २०८१ वैशाख ३ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए। गत भदौ २४ गते देशमा उत्पन्न असहज परिस्थितिको मौका छोपी उनीसहित ४१ भारतीय र अन्य कैदीहरू जेल ब्रेक गरी फरार भएका थिए। प्रशासनको आह्वानपछि हालसम्म १० भारतीयसहित ३०९ जना कैदी सम्पर्कमा आएका छन्।
जलेश्वर कारागारका सूचना अधिकारीका अनुसार हाल पनि ३१ भारतीय र २२३ नेपाली गरी कुल २५४ जना कैदी फरार रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक हेरम्ब शर्माले फरार कैदीहरूको विवरण सबै प्रहरी इकाइमा पठाइएको र खोजी कार्यलाई तीव्रता दिइएको बताए। फरार कैदीलाई लुकाउने, आश्रय दिने वा सीमा पार गराउन सहयोग गर्ने व्यक्तिलाई पनि कानुनी कारबाही गरिने प्रहरीको चेतावनी छ। नेपाल–भारत सीमा क्षेत्रमा लुकेका कैदीहरूको खोजीका लागि भारतीय समकक्षीसँग समन्वय बढाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments