चैती छठको मुख्य दिन: मिथिलाञ्चलभर अस्ताउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धापूर्वक पूजा

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत्र १० गते । मिथिला क्षेत्रमा मनाइने महान् लोकआस्थाको पर्व चैती छठको मुख्य दिन षष्ठी तिथिमा मङ्गलबार साँझ व्रतालुहरूले विभिन्न नदी, पोखरी र जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पूजा गरेका छन्। चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वअन्तर्गत व्रतालुहरूले घरघरमा गहुँ र चामलबाट बनेका ठकुवा, भुसवा, खजुरिया, पेरुकिया जस्ता परिकार तथा फलफूलसहितका सामग्री लिएर भक्ति गीत गाउँदै छठघाटमा पुग्ने परम्परा छ। साँझपख पानीमा उभिएर सूर्य अस्ताउञ्जेलसम्म पूजा गर्दै पिठार, सिन्दुर र अक्षता प्रयोग गरी अर्घ अर्पण गरिन्छ।

आइतबारदेखि सुरु भएको यस पर्वको दोस्रो दिन ‘खरना’ मनाइएको थियो भने बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुनेछ। जलेश्वर सहित मटिहानी, बर्दिबास लगायतका क्षेत्रका जलाशयहरूमा श्रद्धालुहरूको ठूलो भीड लागेको छ। धार्मिक मान्यताअनुसार सूर्यदेवको उपासनाबाट पारिवारिक सुख, शान्ति, समृद्धि र रोगबाट मुक्ति प्राप्त हुने विश्वास रहिआएको छ। सामाजिक सद्भावको प्रतीक मानिने छठ पर्व हिन्दू मात्र नभई अन्य समुदायले पनि श्रद्धापूर्वक मनाउने परम्परा रहिआएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?