प्रधानमन्त्री सुशीला कार्कीले जानकी मन्दिरमा दर्शन तथा पूजा : जनकपुरधामलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता

11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र ६ गते । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा विशेष पूजाआराधना गरेकी छन्। आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ पुगेकी प्रधानमन्त्री कार्कीले मन्दिरमा विधिपूर्वक पूजा गरेकी हुन्। मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले उनको स्वागत गर्दै पुष्पमाला तथा प्रसाद प्रदान गरेका थिए। पूजापछि मन्दिरको परिक्रमा गरी आवश्यक जानकारी लिएकी प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीसँग कुरा गर्दै यो आफ्नो विशुद्ध धार्मिक यात्रा भएको बताइन्।

प्रधानमन्त्री कार्कीले जनकपुरधाम नेपालको धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताइन्। उनले जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताइन्। अन्तरिम सरकार जनताको अपेक्षाअनुसार सुशासन, विकास र स्थायित्वका लागि केन्द्रित रहेको भन्दै उनले सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन्। विमानस्थलमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललगायतले स्वागत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?