जनकपुरधामको फुटपाथ खाली गराउन गृहमन्त्री फकिरा महतो सडकमा : पर्यटकीय नगरी बनाउने अभियान सुरु

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र ४ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले जनकपुरधामको सडकपेटी खाली गराउन व्यक्तिगत रूपमा अग्रसरता देखाएका छन्। जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्य संघ, धनुषा प्रहरी र ट्राफिक प्रहरी कार्यालय धनुषाको समन्वयमा मन्त्री महतो बुधबार बिहानैदेखि सडकमा उत्रिएर फुटपाथमा अवैध रूपमा व्यापार गर्दै आएकाहरूलाई हटाउने काममा लागेका छन्। पर्यटकीय नगरीको रूपमा जनकपुरधामको विकास गर्ने लक्ष्यसहित प्रदेश सरकारले सरसफाई र सौन्दर्यीकरणका काम अघि बढाउने क्रममा मन्त्री महतोले पहिलो चरणमा मठमन्दिर क्षेत्रका फुटपाथ खाली गराउने अभियान थालेका हुन्।

मन्त्री महतोले व्यवसायीहरूलाई अन्त सर्न अनुरोध गर्दै एकल प्रयासले परिवर्तन सम्भव नहुने बताएका छन्। उनले स्थानीयवासी, व्यवसायी र नागरिक समाजलाई मिलेर जनकपुरधामको परिवर्तनका लागि साथ दिन अपिल गरेका छन्। मन्त्री महतोले जनकपुरधामलाई स्वच्छ, व्यवस्थित र सफा बनाउन व्यवसायीहरूलाई हात जोडेर आग्रह गरेका छन्। उनले भोलिपल्टदेखि कुनै व्यवसायीले सडकपेटीमा बाटो जाम गरी व्यापार गरेको पाइएमा जनकपुरधाम उपमहानगरपालिकामा सामानसहित बुझाउने चेतावनी दिएका छन्। जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सडकपेटीमा व्यापार गर्दै आएकाहरूलाई अस्थायी रूपमा बाह्रविघा मैदानमा ठेला तथा स्टल लगाउन वातावरण मिलाइएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?