जनकपुरधामको सौन्दर्यीकरण र व्यवस्थापन सुधारका लागि प्रदेश सरकारको पहल

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र ४ गते । जनकपुरधाम को सौन्दर्यीकरण तथा सडक, फुटपाथ, ई–रिक्सा, सरसफाइ र छाडा चौपायाको व्यवस्थापन सुधार गर्न मधेश प्रदेश सरकार ले पहल थालेको छ। गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो ले जनकपुरधाम धार्मिक तथा ऐतिहासिक नगरी भए पनि व्यवस्थित व्यवस्थापनको अभावका कारण बाहिरबाट आउने पर्यटकहरूमा शहरप्रति नकारात्मक धारणा बनेको बताए। उनले सहरको व्यवस्थापन सुधारका लागि प्रस्ताव तयार पारिएको र त्यस विषयमा मन्त्रालयको आयोजनामा मंगलबार सरोकारवालासँग छलफल गरिएको जानकारी दिए।

गृह, सञ्चार तथा कानून मन्त्रालयका शाखा अधिकृत राधे शंकर पाल का अनुसार बैठकले फुटपाथलाई पैदलयात्रीका लागि सुरक्षित बनाउन अवैध रूपमा राखिएका ठेला, पसल तथा संरचना जनकपुरधाम उपमहानगरपालिका को नेतृत्वमा हटाउने निर्णय गरेको छ। साथै सडक किनारमा वृक्षारोपण तथा सौन्दर्यीकरण कार्यक्रम सञ्चालन गर्ने, ई–रिक्सा दर्ता, रुट निर्धारण र पार्किङको व्यवस्था गर्ने निर्णय पनि भएको छ। त्यसैगरी जानकी मन्दिर, राम मन्दिर, शिव मन्दिर, गंगासागर लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा नियमित सरसफाइ कार्यक्रम सञ्चालन गर्ने र सडकमा रहेका छाडा चौपायाको व्यवस्थापनका लागि उपमहानगरपालिकासँग समन्वय गर्ने निर्णय भएको जनाइएको छ।

गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोको अध्यक्षतामा भएको बैठकमा श्रम तथा यातायात मन्त्री मनिष सुमन, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल, नगर उपप्रमुख किशोरी साह लगायत विभिन्न मन्त्रालयका अधिकारी, उद्योग–व्यापार प्रतिनिधि तथा ई–रिक्सा व्यवसायीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?